नेपालमा जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता
माघ २६ , २०८१ । नेपालमा कुल जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या पनि जनसंख्याभन्दा बढी पुगेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ भने मोबाइल फोन प्रयोगकर्ताको संख्या २ करोड ९५ लाख ४५ हजार ७ सय ३० पुगेको छ ।
ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या ३ करोड ९० लाख
द्रुत गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या भने ३ करोड ९० लाख ४१ हजार ६ सय ७ पुगेको छ । नेपालमा ५ एमबीपीएसभन्दा बढी गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड मानिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा कुल टेलिफोन प्रयोगकर्ताको संख्या २ करोड ९९ लाख ५४ हजार ७ सय ११ रहेको छ ।
जसमा फिक्स्ड लाइनको संख्या ४ लाख ७ हजार ९ सय २५ छ । मोबाइल प्रयोगकर्ताको संख्या भने २ करोड ९५ लाख ४५ हजार छ । जीएमपीसिएस प्रयोगकर्ता १ हजार ५६ पुगेको छ । प्राधिकरणका अनुसार नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ता १ करोड ४८ लाख ८ हजार ५ सय २५ छन् । एनसेल मोबाइल प्रयोगकर्ता भने १ करोड ४७ लाख ३७ हजार २ सय ५ छन् ।
नेपालमा फिक्सड लाइन प्रयोगकर्ताको हिस्सा १ दशमलव ३ प्रतिशत मात्र छ भने मोबाइल फोन प्रयोगकर्ताको हिस्सा ९८ दशमलव ६ प्रतिशत छ । सिम प्रयोगकर्ताको आधारमा भने हो भने नेपाल टेलिकमको ग्राहक संख्या ५० दशमलव ७९ प्रतिशत छ ।
एनसेल कम्पनीको प्रयोगकर्ता ४९ दशमलव १९ प्रतिशत छ । द्रुत गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्तामध्ये एडीएसएल प्रयोगकर्ता अझै पनि १ हजार ८ सय ९० छन् । फाइबर टु द होम (एफटीटीएच) प्रयोगकर्ता भने २९ लाख ५० हजार ७ सय ५८ छन् । रेडियो वाईफाई प्रयोगकर्ता ३१ हजार ९ सय १३ छन् ।
थ्रीजी मोबाइल प्रयोगकर्ता ९ लाख २३ हजार ६ सय ५६ र फोरजी प्रयोगकर्ता २ करोड ५० लाख ७५ हजार छन् । एफटीटीएच इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमको ३ लाख १९ हजार इन्टरनेट सेवाप्रदायक २९ लाख ५० हजार ८ सय छन् ।
दूरसञ्चार प्राधिकरणका अनुसार अहिले भिस्याट र सीडीएमए प्रविधि हटिसकेको छ र त्यसका प्रयोगकर्ता पनि शून्यमा झरिसकेको छ । निजी क्षेत्रका फिक्स्ड इन्टरनेट सेवाप्रदायकहरूमध्ये सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता वल्र्डलिंकका छन् । वल्र्डलिंकको बजार हिस्सा ३२ दशमलव ३३ प्रतिशत छ । कुल २० वटा इन्टरनेट सेवा प्रदायकमध्ये वल्र्डलिंकका ग्राहक संख्या ९ लाख ६५ हजार ३७ छ ।
फिक्स्ड इन्टरनेट सेवाप्रदायकमा दोस्रो स्थानमा नेपाल टेलिकम छ । टेलिकमको फिक्स्ड इन्टरनेट प्रयोगकर्ता ३ लाख ४८ हजार छन् । तेस्रो स्थानमा डिस मेडिया नेटवर्क छ । डिस मिडियाका इन्टरनेट प्रयोगकर्ता ३ लाख ३६ हजार ४ सय ८१ छन् । सुविसु केबल नेटको भने ३ लाख ८ हजार १ सय प्रयोगकर्ता छन् ।
गत पुससम्मको तथ्यांकअनुसार सुविसुपछि भायानेटको इन्टरनेट प्रयोगकर्ता ७ दशमलव ३१ प्रतिशतमा सीमित भएको छ । भायानेटको प्रयोगकर्ता २ लाख १८ हजार १ सय २२ मात्र छन् । कर्मचारी आन्दोलनका कारण समस्यामा रहेको वेबसर्फरको ग्राहक संख्या भने १ लाख ८४ हजार छ ।
क्लासिक टेकको भने १ लाख ७४ हजार छ । आक्रामक रूपमा बजार विस्तार गर्न खोजे पनि सीजीले ७६ हजार ८ सयभन्दा बढी ग्राहक बनाउन सकेको छैन ।
ब्रोडब्यान्ड नेटवर्क, चित्रवन युनिक, एभरेस्ट वायरलेस, फाइबर वल्र्ड, फिस्टलिंक, आइजोन, कोनेट, सजिले नेट, टेकमाइन्ड्स, वाईफाई नेपालको ग्राहक संख्या भने १ लाखभन्दा कम नै पाइएको छ । यो समाचार आजको राजधानी दैनिकबाट लिएका हौ ।

