देशभर मनसुन सक्रिय : केही स्थानमा भारी वर्षाको सम्भावना
असार १७, २०८२ । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा अलिक उत्तरतर्फ सरेर पश्चिम नेपालको नजिक रहेको छ ।
महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका साथै पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
रातिको अवस्थामा पनि कोशी, मधेश, बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ । ती प्रदेशका पहाडी क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र चट्याङ हुने सम्भावना रहेको छ। एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा रातिको समयमा पनि वर्षा र हिमपात हुन सक्ने मौसम विज्ञान महाशाखाले जनाएको छ।

