Headlineसमाचार

देशभर मनसुन सक्रिय

Sharing is caring!

असार १२, २०८२ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा सामान्य बदली रहँदा बाँकी क्षेत्रको मौसम आंशिकदेखि मुख्यतः सफा छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरिएको छ ।

कर्णाली, सुदूरपश्चिम तथा देशका अन्य पहाडी भूभागका केही स्थानमा र बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुनसक्ने महाशाखाको भनाइ छ ।

त्यस्तै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।

आज रातिको मौसम पनि आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

सावधानी अपनाउन महाशाखाको आग्रह
लगातारको वर्षाका कारण पहिरो, बाढी र सडक अवरुद्ध हुने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *