देश

टेरामक्स प्रकरणमा मुद्दा दर्ता भएसँगै मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

Sharing is caring!

जेठ १, २०८२ । टेरामक्स घोटालामा संलग्न रहेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन हुने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १५ जना व्यक्ति र सम्बन्धित कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार, दफा ३६ बमोजिम राष्ट्रसेवकविरुद्ध मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा रहने व्यवस्था छ।

दफा ३३ मा स्पष्ट उल्लेख छः

‘…थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।’

हाल बस्नेत थुनामा नरहे पनि उनीमाथि दफा ३६ अन्तर्गत मुद्दा दायर भइसकेको हुँदा सांसद पद निलम्बनमा पर्नेछ। यद्यपि संसद सचिवालयका अधिकारीहरूले औपचारिक रूपमा मुद्दाको जानकारी प्राप्त भएपछि मात्र प्रक्रिया अघि बढ्ने जनाएका छन्।

संसद सचिवालयका अनुसार निलम्बनको सूचना सभामुखले संसद बैठकमा औपचारिक रूपमा सुनाउनु पर्ने व्यवस्था छ। यथोचित पत्र प्राप्त भएसँगै सो प्रक्रिया सुरु गरिनेछ।

टेरामक्स प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तमै तरंग सिर्जना गरेको छ। यसअघि कांग्रेस नेता बस्नेतमाथि अनियमितता र प्रभावशाली हैसियतको दुरुपयोग गरेको आरोप लागेको थियो। आयोगको अनुसन्धानपछि उक्त प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अब बस्नेत प्रतिनिधिसभाको कुनै पनि बैठकमा सहभागी हुन, मतदान गर्न वा संसदीय समितिमा रहने अधिकार गुमाउनेछन्, जबसम्म मुद्दाको अन्तिम किनारा लाग्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *