मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट
वैशाख ३१, २०८२ । मोडल तथा अभिनेत्री कुसुम शर्मा वैवाहिक जीवनतर्फ अघि बढेकी छन्। उनले प्रेमी विश्व अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्।
मंगलबार उनीहरूले पारिवारिक तथा नजिकका साथीभाइको उपस्थितिमा औपचारिक रूपमा इन्गेजमेन्ट कार्यक्रम सम्पन्न गरेका हुन्। सामाजिक सञ्जालमार्फत कुसुमले सो अवसरको भिडियो सेयर गर्दै आफ्नो खुसी सार्वजनिक गरेकी छिन्।
कुसुम शर्माले गायिका प्रकाश सपुतको चर्चित गीत ‘सकम्बरी’बाट सांगीतिक यात्रा सुरु गरेकी हुन्। पहिलो म्युजिक भिडिओबाटै दर्शकको ध्यान खिच्न सफल भएकी उनले त्यसयता दर्जनौं गीतमा मोडलिङ गर्दै आफूलाई स्थापित बनाएकी छिन्।
संगीत क्षेत्रसँगै कुसुमले अभिनय क्षेत्रमा पनि पाइला चालेकी छिन्। केही समयअघि मात्रै उनी अभिनीत नेपाली चलचित्र ‘वर एण्ड बधु’ प्रदर्शनमा आएको थियो। यसबाहेक, अन्य केही चलचित्रमा पनि उनले अभिनय गरिरहेकी छन्।
इन्गेजमेन्टको खबर सार्वजनिक भएपछि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत उनलाई जीवनको नयाँ अध्यायको लागि बधाइ तथा शुभकामना दिइरहेका छन्।

