इजरायल–इरान युद्ध : नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि मन्त्रालयस्तरीय बैठक सम्पन्न
असार ६, २०८२ । इजरायल र इरानबीच जारी युद्धका कारण उत्पन्न जटिल परिस्थिति र त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा उद्धारका विषयमा आज (शुक्रबार ) परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चस्तरीय अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकमा युद्ध प्रभावित क्षेत्रका नेपालीहरूले स्वदेश फर्कन चाहनेमाथि विशेष ध्यान दिइयो। परराष्ट्र मन्त्रालयले ति नेपालीहरूलाई स्वदेश फर्कनको लागि स्थापना गरिएको विशेष पोर्टलमा दर्ता गराउन आग्रह गरेको छ। यसका साथै नेपालले युद्धको शुरुदेखि नै परिस्थिति गम्भीरतासाथ नियालिरहेको र कुनै पनि नेपालीलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने विषयमा समेत छलफल गरिएको बैठकमा जानकारी गराइयो।
संबन्धित तीन मन्त्रालयका अधिकारीहरू समेत समेटेर परराष्ट्र मन्त्रालयमा २४ घन्टे सञ्चालन हुने एक समन्वय युनिट गठन गर्ने निर्णय पनि भएको छ। यसले युद्ध प्रभावित क्षेत्रबाट नेपालीहरूको उद्धारमा छिटो र प्रभावकारी काम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
बैठकमा श्रम मन्त्री माननीय शरदसिंह भण्डारी, गृह मन्त्रालय, श्रम तथा पर्यटन मन्त्रालयका सचिवज्यूहरूले आवश्यक समन्वय र सहयोगमा आफ्ना धारणा राख्दै, नेपाली नागरिकहरूको सुरक्षाका लागि सरकार एक जुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सरकारले नेपालीहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सबै सम्भावित कदम चाल्ने भएकोले प्रभावित क्षेत्रका नागरिकहरूले तत्काल परराष्ट्र मन्त्रालयको अनलाइन पोर्टलमा दर्ता गराउन र आवश्यक सहयोग लिन सुझाव दिइएको छ।

