Headlineदेशसमाचार

प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्ने, बजेट छलफल र विधेयक पेस हुने सम्भावना

Sharing is caring!

जेठ २९, २०८२ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक संसद भवन, नयाँबानेश्वरमा बस्नेछ ।

संसद सचिवालयका अनुसार, आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी रहेको छ । यस प्रस्तावमाथि प्रतिनिधिसभाका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने सम्भावना छ ।

यसका अतिरिक्त, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विभिन्न कार्यभारसम्बन्धी पत्रहरूको विवरण पनि पढेर सुनाउने कार्यक्रम रहेको जनाइएको छ ।

यता, पछिल्ला केही बैठकहरू विपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् । भिजिट भिसा सम्बन्धी विवादका कारण गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलले जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

आजको बैठकले विगतका अवरोध पार गर्दै नियमित कार्यसूचीमा प्रवेश गर्ने हो वा होइन भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *