Headlineदेश

सङ्घीय संसद्का दुवै सदनको बैठक आज

Sharing is caring!

जेठ २०, २०८२ । आज (मङ्गलबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । यो प्रस्ताव पेश गरेपछि सांसदहरूबीच छलफल हुने कार्यसूचीमा समावेश गरिएको छ ।

यही बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेस गर्नुहुनेछ । सो विधेयक संघीय निजामती सेवा सम्बन्धी कानुनी व्यवस्थालाई व्यवस्थित गर्न ल्याइएको हो ।

दिउँसो बस्ने राष्ट्रियसभा बैठकमा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल सक्रिय रहनेछन् । उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुहुनेछ । उक्त विधेयकले भन्सार प्रणालीलाई सुधार र आधुनिकीकरण गर्ने उद्देश्य राखेको छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख गरिएको छ । यसैगरी, प्रतिनिधिसभाबाट प्राप्त संशोधनप्रति सहमति जनाउने प्रस्ताव पनि पेश गरिनेछ ।

आजको बैठकहरूमा महत्वपूर्ण विधेयकहरूमाथिको छलफल र निर्णयले आगामी नीति तथा प्रशासनिक संरचनामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । बजेट सम्बन्धी छलफल सुरु हुने भएकाले संसद् कार्यसूची राजनीतिक तथा सार्वजनिक रूपमा विशेष चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *