आवासीय चिकित्सकलाई भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज गरिने चेतावनी : मन्त्री पौडेल
वैशाख १९, २०८२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई सशक्त चेतावनी दिएका छन्। चिकित्सा शिक्षा आयोगको निर्णय पालना नगर्ने कलेजहरूको सम्बन्धन खारेज गरिने मन्त्री पौडेलले बताएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा उनले निजी मेडिकल कलेजलाई चेतावनी दिँदै भने, “आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने निर्णय आयोगले गरिसकेको छ, त्यसको कार्यान्वयन नहुँदा सम्बन्धन खारेजको अवस्था आउन सक्छ।”
मन्त्रालयमा आयोजित छलफलमा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकहरूको टोली सहभागी थियो। छलफलमा मन्त्री पौडेलले सरकारी अस्पतालमा लागू हुने सुविधा सबै मेडिकल कलेजमा पनि लागू हुनु पर्ने स्पष्ट पारे।
चिकित्सा शिक्षा आयोगको माघ २५ गते बसेको सोह्रौं बैठकले सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत आवासीय चिकित्सकलाई जस्तै निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पनि स्वास्थ्य सेवाको आठौं तह सरहको निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर, दुई महिना बितिसक्दा पनि केही कलेजहरूले यो निर्णय लागू गरेका छैनन्।
यही कारणले आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले केही निजी मेडिकल कलेज सञ्चालकले माफी माग्न दबाब दिएको, कलेजमा प्रवेशमा रोक लगाएको गुनासो गरेका छन्। सोही गुनासोसहित उनीहरू स्वास्थ्यमन्त्रीसँग भेटघाटमा पुगेका थिए।
छलफलका क्रममा मन्त्री पौडेलले आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिँदै सम्बन्धन खारेजको चेतावनी दिएका हुन्। साथै, उनले आन्दोलनरत चिकित्सकहरूलाई उपचार सेवामा फर्किन पनि आग्रह गरेका छन्।

