Headlineसमाचार

मौलापुर नगरपालिकाको बजेट: ‘शून्य कर’ देखि ‘नगरडाक्टर’ सम्मका योजना सार्वजनिक

Sharing is caring!

असार १०, २०८२ । मौलापुर नगरपालिकाको बजेट अधिवेशनमा सार्वजनिक गरिएका विभिन्न जनमुखी कार्यक्रमहरूले रौतहटसहित मधेश प्रदेशको ध्यान तानेको छ। नगरप्रमुखको नेतृत्वमा प्रस्तुत बजेटमा ‘शून्य कर नीति’देखि लिएर ‘नमूना बस्ती’ निर्माणसम्मका योजना समेटिएका छन्।

अधिवेशनमा नगरपालिकाले नगरवासीका लागि खानेपानी र विद्युतजस्ता आधारभूत सेवामा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गर्‍यो। ‘फ्री बिजुली–फ्री पानी’ नीतिका साथै नगरभित्र सुरक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ‘नगरप्रहरी’को सट्टा ‘नगरमास्टर’ र ‘नगरडाक्टर’ नियुक्त गर्ने योजना पनि अगाडि सारिएको छ।

नगरपालिकाले छोरीहरूको विवाहमा सहयोग गर्न ‘छोरीसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको छ। यस कार्यक्रममार्फत विवाह खर्चमा राहत दिने व्यवस्था गरिने जनाइएको छ। त्यस्तै, सबै सडक कालोपत्रे वा ढलान गरेर मौलापुरलाई ‘कच्ची सडक मुक्त नगर’ बनाउने लक्ष्य लिइएको छ।

दलित समुदायका लागि ‘नमूना एकीकृत बस्ती’ निर्माण गर्ने योजना बजेटमा उल्लेख गरिएको छ। नगरपालिकाले बस्ती निर्माणमार्फत दलित समुदायलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने बताइएको छ।

शिक्षा क्षेत्रमा गुणस्तरीय र निःशुल्क शिक्षा सुनिश्चित गर्ने तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न ‘मोडेल अस्पताल’ स्थापना गरिने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। कृषकको उत्पादनमा वृद्धि गर्न ‘कृषि विकास तथा पशु अस्पताल’ निर्माण गरिने योजना पनि प्रस्तुत भएको छ।

नगरपालिकाका अनुसार यी सबै कार्यक्रमहरू कार्यान्वयनमा लैजान आवश्यक बजेट व्यवस्था गरिएको छ। अधिवेशनमा सहभागी स्थानीय प्रतिनिधिहरूले मौलापुरले प्रस्तुत गरेका कार्यक्रमहरू दूरदर्शी र आमजनमुखी भएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *