आज महाशिवरात्रि: देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
फागुन १४, २०८१ । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना गरी मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले बिहानै नदी, तलाउ तथा कुण्डमा स्नान गरी शिव मन्दिरमा दर्शन र पूजा गरिरहेका छन्।
काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार, पशुपतिनाथ मन्दिरमा सहज दर्शनका लागि २ सेकेन्डमा १० जनाले दर्शन गर्न सक्ने व्यवस्था गरिएको छ।
महाशिवरात्रिका अवसरमा भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवलाई दूध, धतुरो, बेलपत्र चढाउने परम्परा छ। भगवान् शिवलाई जाडो हुने जनविश्वासका कारण घर, चोक तथा मठमन्दिरहरूमा धुनी बाल्ने, भजन–कीर्तन गर्ने र प्रसाद ग्रहण गर्ने चलन छ।
यसै अवसरमा नेपाली सेनाले टुँडिखेलमा सेना दिवस विशेष समारोह आयोजना गर्दैछ। पशुपतिनाथ मन्दिर दर्शन र सेना दिवस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहनेछ।

