समाचार

आतङ्कविरुद्धको लडाइँमा मधेश भारतको साथमा : मुख्यमन्त्री सिंह

Sharing is caring!

वैशाख २७, २०८२ । जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ निर्दोष व्यक्तिको ज्यान गएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीश सिंहले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्री सिंहले शनिबार आफ्नो आधिकारिक फेसबुकमार्फत संवेदना प्रकट गर्दै आतङ्कवादविरुद्ध भारतले चालेका कदमको समर्थन गरेका छन्। उनले लेखेका छन्, “जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ।”

सिंहका अनुसार ती ज्यान गुमाएकाहरू केवल आँकडा होइन, कसैका बाबु, आमा, छोरी वा साथी थिए, जससँगै धेरै सपना पनि मरेका छन्। “आतङ्कवादको कुनै धर्म, जात वा सिमाना हुँदैन,” मुख्यमन्त्री सिंहको भनाइ छ, “यस्तो कायरता मानवता विरुद्धको अपराध हो। यसको प्रतिकार आवश्यक छ।”

आफ्नो प्रदेशले पनि विगतमा अनेक पीडा भोगेकाले भारतका नागरिकको पीडामा आत्मीयता महसुस गर्ने उनले जनाएका छन्। “मधेश भारतको साथमा छ—आज पनि, भोलि पनि, र सदैव,” सिंहले जोड दिएका छन्।

उनले आह्वान गर्दै भनेका छन्, “आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ। आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *