देश

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका निजी अस्पतालहरूको छड्के अनुगमन

Sharing is caring!

फागुन ८, २०८१ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज महानगरपालिका क्षेत्रका सात निजी अस्पतालमा छड्के अनुगमन गरेका छन्। अनुगमन गरिएको अस्पतालहरूमा भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि, र शाह हस्पिटल प्रालि रहेका छन्।

अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर आवश्यक दर्ता बिना सञ्चालनमा रहेको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए। भवानी हस्पिटल एण्ड रिसर्च प्रालि तथा स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलको नवीकरण अवधि सकिएको देखिएकाले ती अस्पतालहरूलाई छिटो नवीकरण गरी आवश्यक कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थित हुन लिखित निर्देशन दिइएको छ।

अनुगमन टोलीका अनुसार अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गरिएको छैन। विपन्न तथा ज्येष्ठ नागरिकका लागि १० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन नभएको पाइएको छ। साथै, अस्पतालहरूले इजाजत लिएको भन्दा बढी शय्या सञ्चालन गरिरहेका थिए।

मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनलाई यी त्रुटिहरु तत्काल सुधार गर्न र मापदण्डको पालना गर्न कडा निर्देशन दिएका छन्। उनले नागरिकको स्वास्थ्य सेवामा कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट पारेका छन्। प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न अनुगमनलाई निरन्तरता दिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *