पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दापछि माधव नेपालको सांसद पद निलम्बन
जेठ २२, २०८२ । पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचारको आरोप लागेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली प्रकरणमा अनुसन्धान गर्दै नेपालको नाम समेत राखेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि संविधान र कानून बमोजिम उनको सांसद पद निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५८ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन, २०४८ अनुसार सार्वजनिक पदमा रहेकाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै सम्बन्धित व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। सोही आधारमा नेपाल निलम्बनमा परेका हुन्।
संसद सचिवालय स्रोतका अनुसार अख्तियारको आधिकारिक पत्र अझै सचिवालयमा नपुगेको भए पनि पत्र प्राप्त भएपछि सभामुखले प्रतिनिधिसभालाई जानकारी गराउने छन्। “पत्र आउन बाँकी छ, तर आज समय सकिएकाले अब भोलिको बैठकमा औपचारिक जानकारी गराइनेछ,” सचिवालय स्रोतले जानकारी दियो।
नेपालमाथि लागेको यो आरोप पतञ्जलीसँग सम्बन्धित विवादास्पद जग्गा सट्टापट्टा प्रक्रिया र त्यसमा देखिएको निर्णय प्रक्रियासँग जोडिएको बताइएको छ। अख्तियारले यस प्रकरणमा अन्य केही सरकारी कर्मचारी र सरोकारवालामाथि पनि मुद्दा दायर गरेको जनाएको छ।

