समाचार

आज हल्का वर्षा र भोलिदेखि ठुलो पानी पर्ने सम्भावना, तत्कालै अन्नबाली भित्र्याउन विज्ञको सुझाव

Sharing is caring!

वैशाख ३, २०८२। देशका विभिन्न भू–भागमा आज मौसम बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा बिहानैदेखि केही स्थानमा हल्का वर्षा भइसकेको छ भने, काठमाडौं उपत्यकासहित अन्य ठाउँहरूमा पनि आज दिनभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोतिर अधिकांश पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च भागहरूमा हल्का हिमपातको सम्भावना छ । तराई भू–भागमा भने आंशिक बदलीदेखि प्रायः सफा मौसम देखिनेछ, यद्यपि केही ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुने जोखिम कायमै रहनेछ ।

मौसमविद्हरूका अनुसार हाल प्रि–मनसुनको चरण चलिरहेको हुँदा चट्याङ, मेघगर्जन र हावाहुरीको सम्भावना बढी हुने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी खुला ठाउँमा काम गर्दा सावधानी अपनाउन र घरबाहिर हिँड्दा सतर्क रहन जनतालाई अनुरोध गरिएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिएअनुसार भोलिदेखि जलवाष्पयुक्त वायुमण्डलीय प्रणाली देशमा प्रवेश गर्ने सम्भावना छ । अरब सागर र बङ्गालको खाडीबाट भित्रिने यो प्रणालीका कारण पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी प्रदेशका केही स्थानमा तुलनात्मक रूपमा बढी पानी पर्ने देखिन्छ ।

यसै सन्दर्भमा, आगामी दिनहरूमा देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको हुँदा गहुँ, मुसुरो लगायतका अन्न र दलहनबाली अहिले नकट्न मौसमविद्हरूले सुझाव दिएका छन् । यदि बाली पहिले नै काटिएको छ भने तत्कालै भित्र्याउन सके वर्षाले हुने क्षति कम गर्न सकिने उनीहरूको भनाइ छ । यो नयाँ मौसमी प्रणालीको प्रभाव आउँदो सोमबारसम्म कायम रहने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *