राजनीतिदेखि साहित्यसम्म योगदान दिने एमाले नेता प्रदीप नेपाल रहेनन्
वैशाख २३, २०८२ । नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ।
लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित रहेका नेपालको काठमाडौंस्थित नर्भिक अस्पतालमा मंगलबार दिउँसो उपचारका क्रममा निधन भएको छ। उनका भाइ समीर नेपालका अनुसार केही समयदेखि स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना गरिएको थियो।
राजनीतिक जीवनसँगै साहित्यिक क्षेत्रमा पनि सक्रिय रहेका नेपाल ‘सञ्जय थापा’ नामबाट प्रगतिशील साहित्य लेखनमा चिनिन्थे।
वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगनेमा जन्मिएका नेपाल एमाले नेतृत्वको नौ महिनाको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए। साथै उनी शिक्षामन्त्रीको जिम्मेवारीमा पनि रहे।
स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि पछिल्लो समय उनी राजनीतिक रूपमा निष्क्रिय रहेका थिए।
उनको निधनप्रति राजनीतिक र साहित्यिक वृत्तबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ।

