लालू यादवले जेठा छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट निष्कासन गरे
जेठ ११, २०८२ । राष्ट्रिय जनता दल (राजद) का वरिष्ठ नेता तथा बिहारका पूर्वमुख्यमन्त्री लालू प्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई पार्टी र परिवार दुबैबाट अलग गरेका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले तेजप्रतापलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेको घोषणा गरेका हुन्।
लालू यादवले तेजप्रतापको हालसम्मको गतिविधि, लोक आचरण र व्यवहार परिवारका मूल्य र संस्कारअनुसार नपरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, “निजी जीवनमा नैतिकताको अभावले हाम्रो सामाजिक न्यायको संघर्षलाई कमजोर बनाउँछ। त्यसैले पार्टी र परिवारमा तेजप्रतापको अब कुनै भूमिका रहने छैन।”
तेजप्रताप यादवले यसअघि सामाजिक सञ्जालमा पोस्ट भएका विषयमा आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको दाबी गरेका छन्। ती पोस्टमा उनले अनुष्का यादव नामकी महिलासँग लामो समयदेखि सम्बन्ध रहेको उल्लेख गरिएको थियो। यद्यपि, ती पोस्टहरू अहिले हटाइएका छन्।
तेजप्रताप सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए। केही समयपछि ऐश्वर्याले पारिवारिक असमझदारीका कारण घर छाडेकी थिइन्।
यसबीच, लालू यादवका कान्छा छोरा तेजस्वी यादव हाल राजद अध्यक्ष छन् र बिहार विधानसभामा विपक्षी नेता हुन्।


