खानेपानी मन्त्रीको भनाइ : ९० प्रतिशत जनसंख्यालाई सुरक्षित पानी पुर्याउन बजेट र जनशक्तिको अभाव
असार ९, २०८२ । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मुलुकको करिब ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी सेवा पुर्याउने सरकारी लक्ष्य पूरा गर्न बजेट र दक्ष जनशक्तिको अभाव मुख्य चुनौती रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा सांसदहरूले बजेट सम्बन्धी उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको पहुँच विस्तारमा पछिल्ला वर्षमा उल्लेखनीय प्रगति भए पनि गुणस्तरीय र सुरक्षित सेवा पुर्याउने काममा अझै धेरै गर्न बाँकी रहेको बताए।
उनका अनुसार हाल मुलुकका करिब ९८ प्रतिशत जनसंख्याले आधारभूत खानेपानी सेवा पाए पनि सुरक्षित खानेपानी भने जम्मा २८ प्रतिशत जनसंख्यामा मात्र पुगेको छ। उनले भने, “सरकारको लक्ष्य ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुर्याउने हो, तर आवश्यक बजेट र जनशक्ति अभावका कारण लक्ष्य प्राप्तिमा कठिनाइ छ।”
मन्त्री यादवले शहरीकरण तीव्र रूपमा बढिरहेको सन्दर्भमा खानेपानी र सरसफाइ सेवा अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताए। उनका अनुसार कुल जनसंख्याको करिब ६६ प्रतिशत शहरी क्षेत्र वा सहर उन्मुख क्षेत्रमा बसोबास गर्ने भएकाले सुरक्षित पानीको माग उच्च छ।
खानेपानी तथा सरसफाइ क्षेत्रलाई लागत प्रभावी र जनस्वास्थ्य सुधार गर्ने क्षेत्रको रूपमा सरकारले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले विगतका प्रयासबाट पानीजन्य रोगहरूमा कमी, बाल मृत्युदर घट्ने, सरदर आयु बढ्ने, महिला र बालिकाको जीवनस्तर सुधार हुने, शिक्षा र स्वच्छताको पहुँच बढ्ने जस्ता सकारात्मक परिणामहरू देखिएको जानकारी गराए।
त्यस्तै, तराई मधेशदेखि काठमाडौं उपत्यकासम्मको भू–जलमा देखिएको आर्सेनिक प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री यादवले यसलाई नियन्त्रण गर्न एकीकृत र बृहत्तर कार्यक्रम आवश्यक रहेको धारणा राखे। उनले आर्सेनिक स्वास्थ्यका लागि घातक भएकाले समयमै कदम चाल्नुपर्नेमा जोड दिए।
ढल व्यवस्थापनसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री यादवले हालसम्म संघ सरकारले मात्र केही प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको तर प्रदेश तथा स्थानीय तहहरूले बजेट अभावका कारण यस्तो कार्य अगाडि बढाउन नसकेको उल्लेख गरे।
मन्त्री यादवले अन्त्यमा खानेपानी मन्त्रालय आम नागरिकलाई शुद्ध, सुरक्षित र भरपर्दो खानेपानी सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनका अनुसार ठूला योजनाहरू समयमै सम्पन्न गरी जनताको विश्वास जित्ने प्रयास जारी रहनेछ।

