अखवार

औसतमा वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा

Sharing is caring!


भदौ ७, २०८१ । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो । पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।

विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जनाएको छ । श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको श्रमका जानकार रामेश्वर नेपालले बताउनुभयो ।

गत आवको तथ्याङ्कसहित विगत तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएकासमेतको हो ।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या रहेका छन् । गत आवमा रोजगारी खोज्दै सात लाख ४१ हजारभन्दा बढी युवा विदेश गएका थिए भने अघिल्लो वर्ष सात लाख ७१ हजार बढीले श्रम स्वीकृति लिएर विदेश गएका थिए । मलेसियाका लागि श्रम स्वीकृति दिन बन्द गरेको कारण अघिल्लो आवभन्दा गत आवमा विदेश जानेको सङ्ख्यामा कमी आएको हो ।

सरकारले श्रम स्वीकृतिको तथ्याङ्क राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आव र गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो । आव २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३० हजार ९० थियो ।

आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ । आव २०७७/७८ मा कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पूरै घटेको थियो । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *