‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक
वैशाख १९, २०८२ । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
चलचित्रमा घर र डेराबीचको भिन्नतालाई सामाजिक दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। निर्देशक खनालले घर मोहकै कारण सिर्जना हुने पारिवारिक, सामाजिक र आर्थिक द्वन्द्वलाई ट्रेलरमा देखाउने प्रयास गरेका छन्।
साहित्यकार बुद्धिसागरको कथामा आधारित यस चलचित्रले घरप्रतिको लगाव, त्यसले निम्त्याउने मनोवैज्ञानिक दबाब र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई कथावस्तु बनाएको छ। यो बुद्धिसागरद्वारा लेखिएको पहिलो चलचित्र कथा हो।
निर्माण पक्षका अनुसार चलचित्र जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो।
नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रमा कृष्णबहादुर थापाको छायांकन रहेको छ।
युवराज कार्की कार्यकारी निर्माता हुन्।
निर्देशक खनाल यसअघि ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सामाजिक कथावस्तुमा आधारित फिल्ममार्फत चर्चामा आइसकेका छन्।
👉 ट्रेलर हेर्नुहोस्:
https://www.youtube.com/watch?v=HVdDGqrkCck

