देश

पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरमा आज शोक बिदा

Sharing is caring!


वैशाख १४, २०८२ । पञ्चायतकालका पूर्वउपप्रमुख तथा नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ।

महानगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय बन्द गरिएको जनाएको छ।

७७ वर्षीय डंगोलको शुक्रबार राति राजधानीस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलाको समस्याबाट पीडित उनी स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना भएका थिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रहेका डंगोल पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेका थिए। प्रतिनिधिसभाको २०५६ र २०६५ सालको निर्वाचनमा विजयी हुँदै उनले सांसदका रूपमा समेत महत्वपूर्ण भूमिका निभाएका थिए।

डंगोलले राजनीतिक जीवनमा विशेषगरी २०६२/६३ सालको प्रतिगमनविरुद्धको जनआन्दोलनमा काठमाडौं उपत्यकामा नेतृत्वदायी भूमिका खेलेका थिए। उनको संघर्ष र योगदान आज पनि स्मरणीय रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।

शनिबार नै उनको अन्त्येष्टि नेवारी परम्परा अनुसार सम्पन्न गरिएको छ। राजधानीस्थित आफ्नै निवासबाट उनको शवयात्रा निकालिएको थियो, जहाँ राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मको उल्लेख्य उपस्थिति देखिएको थियो।

काठमाडौं महानगरपालिकाले डंगोलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनलाई इमानदार, निष्ठावान् र जनमुखी व्यक्तित्वका रूपमा सम्झिएको जनाएको छ। महानगरले उनको निधनलाई नेपाली राजनीति र समाजसेवाको क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *