केएमसी अस्पतालमा स्याङ्जा जिल्लावासीलाई सबै प्रकार उपचार नि:शुल्क
फागुन ११, २०८१ । काठमाडौ मेडिकल कलेज सिनामंगलले आगामी चैत ४ गते स्याङ्जा जिल्लावासीलाइ एक दिनका लागि निशुल्क उपचार प्रदान गर्ने भएको छ। स्याङ्जा क्षेत्र २ का सांसद र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कलेजका प्रोपाइटर सांसद डा. सुनिल शर्माबीच विपन्न बिरामीलाई उपचार सेवा दिने सहमति भएको हो।
सम्झौता अनुसार, अस्पतालमा उपचारको लागि अप्रेशन चार्ज, बेड चार्ज, रगत परीक्षण, सिटी स्क्यान, एमआरआई लगायतका सेवाहरु निशुल्क हुनेछ। यद्यपि, औषधि, औषधिजन्य सामान र खानाका लागि बिरामीलाई शुल्क लाग्नेछ। बिरामीले उपचारको लागि बिमा कार्ड वा विपन्नताको सिफारिस लिएर आउने आवश्यकता हुनेछ।
यस सुविधाको बारेमा थप जानकारीका लागि माननीय धनराज गुरुङको सचिवालयलाई सम्पर्क गर्न सकिने पनि गुरुङको सचिवालयले जनाएको छ ।

