अध्यक्ष प्रचण्ड समक्ष बोहोराद्वारा कर्णाली विकास अभियानबारे जानकारी
असार ९, २०८२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनासम्बन्धी अभियानबारे जानकारी गराएका छन् ।
बोहोराले अध्यक्ष प्रचण्डलाई भेट गर्दै कर्णाली प्रदेशमा भइरहेका चुनौती, विकासका सम्भावना तथा जनताका सरोकारका विषयमा विस्तृत जानकारी गराएका हुन् । उनले कर्णालीको भौगोलिक जटिलता र स्रोत–साधनको न्यूनताका बीचमा जनताले झेल्नुपरेको कठिनाइ उल्लेख गर्दै दिगो विकास, वातावरणीय सन्तुलन र उत्तरदायी शासन प्रणालीको आवश्यकता औंल्याएका छन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले कर्णालीको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले बोहोराको अभियानप्रति सराहना जनाउँदै आवश्यक समन्वय र सहयोग गर्ने आश्वासनसमेत दिएका थिए ।
बोहोराले कर्णालीको मुद्दालाई पार्टी र सरकारको नीति निर्माण तहसम्म लैजाने प्रतिबद्धता जनाएकोसमेत जनाइएको छ ।

