Headlineसमाचार

कमल थापाद्वारा आन्दोलनमाथिको दमनको विरोध, झनै सशक्त संघर्षको चेतावनी

Sharing is caring!

जेठ १८, २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आज (आइतबार) बालुवाटारतर्फको प्रदर्शनमा सरकारले गरेको दमनको कडा विरोध गरेका छन् । उनले यस्तो अमानवीय व्यवहारले आन्दोलन कमजोर नभई झनै सशक्त रूपमा अगाडि बढ्ने चेतावनी दिएका छन् ।

प्रहरी हिरासतबाट रिहा भएपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले सरकार र सुरक्षाकर्मीहरूले आफ्नो मौलिक हकमा हस्तक्षेप मात्र नगरेर स्वयंमाथि अमानवीय व्यवहारसमेत गरेको आरोप लगाए । उनका अनुसार आइतबार बालुवाटार जाने क्रममा प्रहरीले आफूहरूलाई बलपूर्वक रोकेको र अगाडि बढ्न खोज्दा लाठीचार्ज गर्दै दमन गरिएको हो ।

“सरकारले जति दमन गर्दै जान्छ, स्वाभाविक रूपले आन्दोलनको उचाइ अझ बढ्दै जान्छ,” उनले भने, “र अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिको निम्ति अगाडि बढ्नेछौं ।”

थापाले प्रदर्शनको क्रममा आफूले स्थितिलाई संयमित बनाउन खोज्दा एक प्रहरी जवानले पटक–पटक आफ्नो खुट्टामा बुटले हिर्काएको, कठालो समातेर लडाउँदै घिसारेर भ्यानमा हालिएको अनुभव सुनाए ।

“सरकारले जुन किसिमको आज हाम्रो आन्दोलनमाथि दमन गर्‍यो, जुन किसिमको बर्बरतापूर्ण व्यवहार गर्‍यो, त्यो पूर्ण रूपमा अमानवीय थियो,” उनले भने, “म आफैं दुई पटक उपप्रधानमन्त्री, तीन पटक गृहमन्त्री भइसकेको जिम्मेवार व्यक्ति हुँ, तर राज्यले आज जुन प्रकारले अमर्यादित र अपमानजनक व्यवहार गर्‍यो, यसको म घोर भर्त्सना गर्दछु ।”

थापाले यो घटनाले आन्दोलनको भावना झनै बलियो बनाएको बताउँदै आगामी दिनमा सरकारलाई अझ कडा आन्दोलनमार्फत जवाफ दिने घोषणा पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *