जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
असार १०, २०८२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनमाथि तीव्र आलोचना गर्दै समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको स्पष्ट पारे।
यादवले सरकार जनताको पक्षमा नभई बिचौलियाको हितमा काम गरिरहेको आरोप लगाउँदै यस्ता सरकारलाई समर्थन गर्नु संविधान, संघीयता र जनतासँग गद्दारी गर्ने बराबर भएको जिकिर गरे।
उनको भनाइमा, “सरकार जनताको चासोभन्दा टाढा छ। सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममै सरकार सीमित भएको छ।” उनले वर्तमान सत्तारुढ गठबन्धन जनअपेक्षाविपरीत पूर्ण असफल भइसकेको पनि बताए।
यादवले सत्तामा टिकिरहने खेलमै लागेका दलहरूले संविधान संशोधनको कुनै इच्छा नराखेको र परिवर्तनका नारामार्फत जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप लगाए।
उनले देश अहिले राजनीतिक नेतृत्वको सत्ता मोहबाट मुक्त हुनुपर्ने मोडमा रहेको धारणा राख्दै संघीयता, समावेशिता र संविधानको मर्मलाई मिच्ने प्रवृत्तिविरुद्ध सबै सचेत हुनुपर्ने बताए।
यसअघि जसपा सरकारको सहयोगी दलको रूपमा रहेको भए पनि पछिल्लो समय दलभित्रै सरकारको भूमिकाप्रति असन्तुष्टि बढ्दै आएको थियो। यादवको औपचारिक समर्थन फिर्ताको घोषणासँगै सत्ता समीकरणमा फेरबदलको संकेत देखिएको छ।

