काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
जेठ १९, २०८२ । संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यकामा आज (सोमबार) को लागि घोषणा गरिएको बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिले कमल थापा, दीपक सिंहसहित आन्दोलनकारीहरुलाई रिहा गर्न माग गर्दै उपत्यका बन्दको घोषणा गरेको थियो। तर, हिरासतमा लिइएका सात जना रिहा भएसँगै आन्दोलनको कार्यक्रम स्थगन गरिएको हो ।
समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ ।” विज्ञप्तिमा नवराज सुवेदीको नेतृत्वमा गरिएको यो निर्णय सबै आन्दोलनरत पक्षहरूको सहमतिमा भएको उल्लेख छ ।
आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीद्वारा कमल थापा, दीपक सिंहसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई विभिन्न माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका क्रममा पक्राउ गरिएको बताइएको छ ।
रिहाइपछि आन्दोलनकारी पक्षले प्रहरी प्रशासनको कदमप्रति असन्तोष व्यक्त गरे पनि वार्ताको बाटो खुलेको भन्दै बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको स्पष्ट पारेको छ ।


