देश

सुमना श्रेष्ठले रास्वपाको सह–महामन्त्री पदबाट दिइन् राजीनामा

Sharing is caring!

वैशाख ४, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्।

पार्टी अध्यक्ष रवि लामिछाने पुनः सक्रिय राजनीतिमा फर्किएको दिनमै श्रेष्ठले सभापति लामिछानेलाई राजीनामा बुझाएकी हुन्। श्रेष्ठ निकट एक नेताका अनुसार, लामो समयदेखि उनले राजीनामाको सोच बनाएकी थिइन्। तर, लामिछाने हिरासतमा रहेका बेला राजीनामा दिन उपयुक्त नहुने ठानी उनले निर्णय स्थगित गरेकी थिइन्।

श्रेष्ठले हालसम्म सार्वजनिक रूपमा राजीनामा दिएको विषयमा केही नबोले पनि उनी आजको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने तयारीमा रहेको स्रोतले बताएको छ। रास्वाले बिहीबार (आज) को लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

श्रेष्ठ संसद्मा आफ्नो भूमिकामा केन्द्रित हुन चाहन्छिन्। पार्टी पदमा रहँदा संसदीय भूमिकामा पूर्ण ध्यान दिन नसकिने भन्दै उनले जिम्मेवारीबाट अलगिने निर्णय लिएको स्रोत बताउँछ। साथै, पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को नीति व्यवहारमै लागू हुनुपर्नेमा उनी जोड दिँदै आएकी थिइन्।

“पदमा सधैं अड्किरहनु ठीक होइन भन्ने उहाँको मान्यता हो,” श्रेष्ठ निकट एक स्रोतले भन्यो, “राजनीतिमा पुस्तान्तरण, विचार र व्यवहारको एकरूपता आवश्यक हुन्छ भन्ने सोचले उहाँले जिम्मेवारी छाड्नुभएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *