समाचार

ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ

Sharing is caring!

जेठ २, २०८२ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले नेपालमा बेरोजगारीको समस्या समाधान गर्न ऋणको सदुपयोग अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) भइरहेको छलफलमा भाग लिँदै गुरुङले उत्पादनमुखी लगानीका लागि कर्जा प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले राज्यको खर्च प्रवृत्ति अझै पनि ‘ऋण लिएर घ्यू खाने’ प्रवृत्तिमा सीमित रहेको आरोप लगाए।

गुरुङले भने, “ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म रोजगारी सिर्जना हुँदैन। लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ। बेरोजगारी हटाउन कृषि, पर्यटन, उद्योग जस्ता क्षेत्रमा लगानी आवश्यक छ।”

उनले बजेटले जनताको आवश्यकता समेट्न नसकेको टिप्पणी गर्दै अर्थतन्त्रको वास्तविक सुधार उत्पादन क्षेत्रबाट मात्रै सम्भव हुने धारणा राखे। गुरुङले सरकारलाई चेतावनी दिँदै भने, “बजेटको प्राथमिकता खर्चमुखी होइन, आयमुखी हुनु आवश्यक छ।”

संसदको बजेट छलफलमा सहभागी हुँदै उनले वर्तमान आर्थिक नीतिले आत्मनिर्भरता हासिल गर्न सक्दैन भने। “विदेशी ऋण लिएर सरकारी खर्च धान्ने प्रवृत्तिले भविष्यमा झन् संकट निम्त्याउँछ,” गुरुङले चेतावनी दिए, “अहिले पनि ऋणको भार थामिनसक्नु भइसकेको छ, अब सचेत नभइ सुख छैन।”

उनले वैदेशिक ऋण लिने निर्णयको आलोचना गर्दै भने, “विदेशबाट ऋण लिने नाममा देशलाई गिरवी राख्न मिल्दैन। त्यो ऋणले रोजगारी सिर्जना नगर्ने हो भने त्यसले जनताको भविष्य अन्धकार बनाउँछ।”

गुरुङले स्थानीय तहलाई थप जिम्मेवार बनाउँदै उत्पादनशील योजना निर्माण गर्न आग्रह गरे। “स्थानीय तहहरू सशक्त भए मात्रै आर्थिक वृद्धि सम्भव छ,” उनले भने।

उनको धारणा अनुसार कृषि, लघु उद्योग, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा लक्षित लगानीबिना न त रोजगारी सिर्जना हुन्छ न त मुलुक समृद्ध बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *