सीता जयन्ती क्यालेन्डरमा समावेश गर्न सांसद साहको माग
वैशाख २३, २०८२ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जानकी जयन्तीलाई राष्ट्रिय मान्यता दिनुपर्नेमा जोड दिएका छन्। सीता माताको जन्मजयन्तीलाई सम्मानपूर्वक मनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले जनकपुरधामको सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई पनि उजागर गर्न आग्रह गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका सांसद साहले सरकार र सत्तारूढ दलहरूलाई सम्बोधन गर्दै भने, “रामको जन्मजयन्तीमा सार्वजनिक बिदा दिइन्छ, सरकारी कार्यक्रम हुन्छन्, तर सीताको जयन्ती राज्यले भुल्ने गरिन्छ। यस्ता विभेद अब अन्त्य हुनुपर्छ।”
संविधानले लैङ्गिक समानता सुनिश्चित गरिसकेको अवस्थामा पनि सीता जस्तो राष्ट्रिय विभूतिको सम्मानमा विभेद देखिनु विडम्बनापूर्ण भएको सांसद साहको भनाइ थियो।
“हामीले राष्ट्रिय विविधतालाई सम्मान गर्नुपर्छ। सीता नेपालकै गौरव हुन्। जनकी जयन्ती क्यालेन्डरमा समावेश गरिनुपर्छ,” साहले भने।
उनको मागमा भावी वर्षदेखि जनकी जयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरी सरकारी कार्यक्रमका साथ मनाउनुपर्ने प्रस्ताव छ। यसले सीताको योगदानलाई राष्ट्रिय रूपमा उजागर गर्ने र नागरिकस्तरमा ऐतिहासिक चेतना फैलाउने विश्वास उनले व्यक्त गरेका छन्।

