देशभर बदली र वर्षाको क्रम सुरु, कस्तो रहला आजको मौसम?
चैत २८,२०८१ । देशभर अहिले पश्चिमी वायु, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यो अवस्था आज रातिसम्म पनि जारी रहने देखिएको छ। मौसमविद्हरूका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ। यसका कारण हाल केही समयदेखि देशभर देखिँदै आएको बाक्लो तुवाँलो क्रमशः घट्ने अपेक्षा गरिएको छ।
महाशाखाले बदलिंदो मौसमी अवस्थाका कारण कृषि, सडक यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी चट्याङ्ग र असिना पानीको सम्भावनालाई ध्यानमा राखी सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ।
यसबीच, देशका तराई क्षेत्रका केही भागमा तापक्रम बढ्दो अवस्थामा रहे पनि वर्षाले अल्पकालीन राहत मिल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ।

