आईटी उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने
असार ५, २०८२ । सूचना प्रविधि (आईटी) क्षेत्रका नेपाली उद्योगहरूले अबदेखि विदेशमा अधिकतम १० लाख अमेरिकी डलरसम्म लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सम्बन्धी नियमावली २०७८ को चौथो संशोधनसँगै यस्तो व्यवस्था गरिएको हो ।
संशोधित विनियमावलीअनुसार, सूचना प्रविधि उद्योगले पछिल्ला तीन आर्थिक वर्षमा सेवा निर्यातमार्फत आर्जन गरेको विदेशी मुद्राको ५० प्रतिशत वा अधिकतम १० लाख अमेरिकी डलर (दुवैमध्ये जुन कम हुन्छ) बराबरको विदेशी मुद्रा विदेशमा लगानी गर्न सक्नेछन् ।
यसअघि सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत नेपाली कम्पनीहरूलाई विदेशमा लगानीको बाटो खुला गर्ने घोषणा गरिसकेको थियो । बजेटमा व्यवसायीहरूलाई विदेशी बजारमा बिक्री शाखा विस्तार गर्न, अर्धप्रशोधित वस्तु निर्यात गरी प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने उल्लेख गरिएको छ ।
संशोधनपछिको व्यवस्थाले सूचना प्रविधि क्षेत्रमा संलग्न कम्पनीहरूलाई औद्योगिक व्यवसायसम्बन्धी कानुन अनुसार आफ्नो चुक्ता पूँजीको दायराभित्र रही विदेशमा लगानी गर्न राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न सक्ने बनाएको छ ।
नयाँ प्रावधान अनुसार, वार्षिक निर्यात आम्दानीको २५ प्रतिशतसम्मको रकम विदेशमा लगानी गर्न सकिनेछ । साथै, त्यस्तो लगानीबाट आर्जन हुने मुनाफाको कम्तीमा ५० प्रतिशत रकम नेपाल भित्र्याउनुपर्ने व्यवस्था पनि लागू हुनेछ ।

