घरेलु रक्सीमा कर लगाएर शिक्षा क्षेत्रमा लगानी गर्न उपसभापति गुरुङको सुझाव
जेठ ३०, २०८२ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले सरकारले शिक्षकसँग गरिएका सबै सम्झौता समयमै पूरा गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षालाई प्राथमिकतामा राख्दै घरेलु मदिरालाई करको दायरामा ल्याएर त्यसबाट संकलन भएको राजस्व शिक्षामा लगानी गर्नुपर्ने सुझाव दिएका छन् ।
नेपाल शिक्षक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले भने, “पूरा गर्न नसक्ने बाचा गर्नु हुँदैन, तर एकपटक गरिसकेको सम्झौता भने पूरा गर्नुपर्छ ।” उनले आगामी असार १५ भित्र शिक्षा विधेयक संसदमा आउने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै शिक्षकहरूलाई ढुक्क रहन आग्रह गरे ।
गुरुङले देशको कमजोर आर्थिक अवस्थालाई सम्झौताबाट पछि हट्ने बहाना बनाउन नहुने बताए । “शिक्षकहरूको माग पूरा गर्न अर्थतन्त्रले भ्याउँदैन भन्ने कुरा सुनेको छु। तर सरकार अर्थ छैन भनेर हात बाँधेर बस्ने होइन, अर्थ बनाउन लाग्नुपर्छ,” उनले स्पष्ट पारे ।
गुरुङले अर्थतन्त्र बलियो बनाउन आफूले अघिल्लो मन्त्रीपरिषदमा उठाएका प्रयासहरूको स्मरण गर्दै घरेलु मदिरालाई कर प्रणालीमा ल्याउनुपर्ने बताए । “अहिलेसम्म पनि घरेलु मदिरा प्रयोग भइरहेको छ । यसलाई करको दायरामा ल्याएर त्यसबाट उठेको पैसा शिक्षा क्षेत्रमा लगानी गर्न सकिन्छ,” उनको भनाइ थियो ।
उनको अनुसार, यस्तो नीति अपनाउन सके एकातिर घरेलु मदिराको उत्पादन र वितरण पनि व्यवस्थापन हुने छ भने अर्कोतर्फ शिक्षा क्षेत्रमा खर्च गर्न पैसा नपुग्ने भन्ने गुनासो पनि हट्नेछ ।
कार्यक्रममा गुरुङले शिक्षकसँग गरिएका सम्झौता कार्यान्वयनमा अब ढिलाइ सह्य नहुने चेतावनीसमेत दिए । “सरकारको बाचा सरकारको प्रतिष्ठासँग जोडिएको हुन्छ । त्यसैले शिक्षा विधेयक, सेवा संरचना, तथा अन्य सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ,” उनको भनाइ थियो ।

