अखवार

भुक्तानी नगर्दा भारतीय कम्पनीले रोक्यो ब्याण्डवीथ, इन्टरनेटमा समस्या

Sharing is caring!

वैशाख २१, २०८१ । भारतीय कम्पनीले ब्याण्डविथ आपूर्तिमा रोक लगाउँदा देशैभरको इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । नेपाली कम्पनीहरुले ब्याण्डविथ खरिद बापतको रकम भुक्तानी नगर्दा भारतीय कम्पनीले ब्याण्डवीथ आपूर्ति बन्द गरिदिएको छ ।

बिहीबार दिउँसोदेखि नै मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वल्र्डलिंक, सुबिसु, भायानेट, सीजी लगायत कम्पनीका इन्टरनेट सेवा प्रभावित भएका थिए । नेपाललाई अन्तर्राष्ट्रिय ब्याण्डविथ बेचिरहेको भारतीय कम्पनी एयरटेलले आपूर्ति रोकेपछि इन्टरनेटमा समस्या देखिएको वल्र्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताएका छन् ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरुले ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको जनाइएको छ । आइस्पानका अनुसार नेपालका इन्टरनेट सेवा प्रदायकहरुका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनीहरुलाई तिर्नुपर्ने रकम करिब ३ अर्ब रुपैयाँ पुगिसकेको छ । सरकार इन्टरनेट सेवा प्रदायकबीचमा २०७५ सालदेखि रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष ९आरटिडिएफ०मा विवाद रहँदै आएको छ ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न मुख्य ८ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले झण्डै ३ अर्ब रुपैयाँ बराबर रोयल्टी र आरटिडिएफको शुल्क नबुझाएको बताउँदै आएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी मध्ये वल्र्डलिंक र सुविसु कम्पनी भने सरकारलाई रोयल्टी र आरटिडिएफ बुझाउन बाँकी नरहेको भन्दै अदालत गएका छन् । तर २०७६ सालमा वल्र्डलिंकले अदालतमा दायर गरेको मुद्दामा भने अहिलेसम्म फैसला हुन सकेको छैन ।

सरकारले ब्याण्डविथ बापत कम्पनीहरुले विदेशी कम्पनीलाई बुझाउनुपर्ने शुल्कको मुद्रा सटही नदिएपछि जुनसुकै समयमा इन्टरनेट सेवा बन्द हुनसक्ने सेवा प्रदायकले भन्दै आएका थिए । साथै उनीहरुले वल्र्डलिंकले दायर गरेको रिटको आधारमा अदालतले दिएको अन्तरिम आदेश र संसदको लेखा समितिले दिएको निर्देशनका आधारमा आफूहरुले थप रोयल्टी तिर्न नपर्ने भन्दै मिडिया क्यापिङ गर्दै आएका छन् ।

तर सरकार र सेवा प्रदायकबीचको विवादको भुमरीमा भने आम उपभोक्ता पर्न पुगेका छन् । खासगरी सहरीया क्षेत्रमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा लिएका उपभोक्ताहरु बिहीबार दिउँसोदेखि इन्टरनेट सेवाको समस्यामा परेका छन् । भारतीय कम्पनी एयरटेलले ब्याण्डवीथ आपूर्ति रोक्दा करिब ६० प्रतिशत फाइबर इन्टरनेट बजार प्रभावित भएको अनुमान अनुमान गरिएको छ । नेपाल टेलिकमसहितका केही निजी सेवा प्रदायक बाहेकका करिब ७० लाख इन्टरनेट प्रयोगकर्ता मर्कामा परेका छन् ।

इन्टरनेट ब्याण्डविथमा नेपाल भारत र चीनसँग परानिर्भर रहँदै आएको छ । साथै सहरीया इन्टरनेट व्यवसायमा सीमित निजी क्षेत्रका व्यवसायीको प्रभुत्व रहँदै आएको छ । ग्राहकमार्फत् आधा मर्मत सेवा शुल्क र आधा रकम मर्मतको शिर्षकमा बिल काट्दै आएका कम्पनीसँग सरकारले दूरसञ्चार नियमावलीअनुसार रोयल्टी माग गर्दा उपभोक्ता इन्टरनेट सेवाबाटै बञ्चित हुने स्तरमा समस्याको विकास हुन पुगेको छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *