आज अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइँदै
असार ७, २०८२ । आज नेपालभर विविध जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस विश्वभर मनाइने गरिन्छ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१५ देखि औपचारिक रूपमा विश्वभर जुन २१ मा योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योगलाई ‘सदैँका लागि सबैका लागि’ आवश्यक भन्दै अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिन प्रस्ताव गरेका थिए। नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उक्त प्रस्तावलाई पहिलो समर्थन जनाएका थिए।
योग दिवसले संयुक्त राष्ट्रसंघका इतिहासमा ९० दिनभित्र १७७ राष्ट्रको समर्थन प्राप्त गर्ने कीर्तिमान पनि राखेको छ। त्यसपछि सन् २०१६ देखि विश्वभर विभिन्न देशहरूले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेका छन्।
नेपालमा भने योग अभ्यास र प्रचार–प्रसारको छुट्टै इतिहास छ। विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो। वैदिक कालमा हिमालय क्षेत्रलाई योग साधनाको केन्द्र मानिन्थ्यो, तर समयक्रममा नेपालमा यसको अभ्यास लोप हुँदै गयो। पुनः जनचेतना जगाउने उद्देश्यले अभियानहरू सुरु गरिए।
नेपाल संस्कृत विश्वविद्यालयमार्फत छ महिनाको योग तथा प्राकृतिक चिकित्सा तालिम सञ्चालन हुँदै आएको छ। साथै, योगको प्रवर्द्धन र औपचारिक संरचना निर्माणका लागि नेपाल सरकारद्वारा विविध कदमहरू चालिएका छन्।
माघ १ गते मनाइने विश्व योग दिवसलाई औपचारिकता दिन नेपाल सरकारसमक्ष अभियानकर्मीहरूले त्यसलाई राष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार विसं २०७२ साउन २८ गते शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको पहलमा माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरिएको हो।
हिन्दू धर्मग्रन्थअनुसार उत्तरायण सुरु हुने दिन मकर संक्रान्ति अर्थात् माघ १ लाई ध्यान र योग साधनाका लागि अति शुभ मानिन्छ। त्यसैले माघ १ लाई राष्ट्रिय योग दिवस र जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा नेपालमा मनाउने गरिएको छ।
आजको अवसरमा काठमाडौं सहित देशभर विभिन्न संघसंस्थाले योग शिविर, ध्यान साधना र जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेका छन्। योगको महत्व जन–जनसम्म पुगोस् भन्ने उद्देश्यले विद्यालयदेखि समुदायस्तरसम्म अभियान सञ्चालनमा छन्।

