देश

आज अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै

Sharing is caring!

जेठ १, २०८२ । परिवारसँग सम्बन्धित विषयमा चेतना फैलाउने उद्देश्यका साथ आज विश्वभर अन्तरराष्ट्रिय परिवार दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। यस वर्षको नारा “दिगो विकासका लागि परिवारमुखी नीति” तय गरिएको छ।

संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष मे १५ तारिखमा यो दिवस मनाउने गरिन्छ। यसले समाजमा परिवारहरूको भूमिकालाई उजागर गर्दै सामाजिक समावेशिता, गरिबी निवारण, भेदभावको अन्त्य, तथा वातावरणीय क्षति रोक्न नीति निर्माणमा परिवारकेन्द्रित दृष्टिकोणको आवश्यकता औँल्याउँछ।

संयुक्त राष्ट्रसंघले सन् १९८० को दशकदेखि नै विकास प्रक्रियामा परिवारको भूमिकालाई महत्त्व दिन थालेको थियो। सन् १९८३ मा सामाजिक विकास आयोगमार्फत “विकास प्रक्रियामा परिवारहरू” भन्ने विषयवस्तु महासभामा प्रस्तुत गरियो। त्यसपछि १९८९ डिसेम्बर ९ मा महासभाले सन् १९९४ लाई अन्तरराष्ट्रिय परिवार वर्ष घोषणा गर्‍यो। त्यसकै निरन्तरता स्वरूप, सन् १९९३ मा प्रत्येक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय लिइएको हो।

यस दिवसको माध्यमबाट समाजमा रहेका परिवारहरूलाई सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र आर्थिक सशक्तीकरण जस्ता क्षेत्रमा सम्बोधन गर्ने उद्देश्य राखिएको छ।

संयुक्त राष्ट्रसंघको भनाइमा, दिगो विकासका लक्ष्य (SDGs) सन् २०३० भित्रै प्राप्त गर्न परिवारकेन्द्रित नीति र कार्यक्रमहरूले निर्णायक भूमिका खेल्नेछन्। यही सन्दर्भमा आगामी नोभेम्बर २०२५ मा कतारमा हुने “दिगो विकासका लागि परिवारमुखी नीतिहरूः सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन” ले महत्वपूर्ण छलफलको अवसर प्रदान गर्नेछ।

आज न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा पनि यो दिवसलाई विशेष कार्यक्रमसहित मनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *