विदेश

पहलगाम हमलापछि भारतको कडा कदम : सीसीएस बैठकले गर्‍यो पाँच महत्वपूर्ण निर्णय

Sharing is caring!

वैशाख १०, २०८२ ।  भारतको जम्मु–कश्मीरको पहलगाममा भएको भीषण आतङ्कवादी हमलापछि केन्द्र सरकारले तत्काल कडा प्रतिक्रिया जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मंगलबार साँझ बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को आपतकालीन बैठकले पाकिस्तानलाई कडा जवाफ दिने निर्णय गर्दै कूटनीतिक, प्राविधिक तथा सुरक्षात्मक तहमा महत्वपूर्ण निर्णयहरू लिएको छ।

विदेश मन्त्रालयले सीसीएस बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको बलियो संकेत प्रस्तुत गर्दै पाँच ठूला निर्णय सार्वजनिक गरेको छ ।

१. सिन्धु जल सम्झौता अन्तर्गत पाकिस्तानतर्फ जाने पानी अवरुद्ध गर्ने।
२. भारत–पाकिस्तान अटारी सीमा पूर्णरूपमा बन्द गर्ने।
३. पाकिस्तानी नागरिकको भारत प्रवेशमा तत्काल प्रतिबन्ध लगाउने।
४. दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तलाई फिर्ता बोलाउने। 

५. दुवै मुलुकमा कार्यरत उच्चायोग कर्मचारीको संख्या घटाइने

बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस. जयशंकर, वित्तमन्त्री निर्मला सीतारमण तथा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल सहभागी थिए। प्रधानमन्त्री मोदीले बैठकपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारतले आफ्ना राष्ट्रिय सुरक्षाका सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन्।

सुरक्षा स्रोतका अनुसार पहलगाम हमलालाई लिएर भारतले पाकिस्तानसँग सबै कूटनीतिक सम्पर्क स्थगित गर्दै इस्लामाबादस्थित आफ्ना कूटनीतिज्ञहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरिसकेको छ। साथै, भारतस्थित पाकिस्तानी उच्चायोगका सबै कर्मचारीलाई सात दिनभित्र भारत छाड्न निर्देशन दिइएको छ।

यसै क्रममा भारत सरकारले पाकिस्तानी नागरिकको सबै भिसा रद्द गर्दै २४ घन्टाभित्र देश छाड्न आदेश जारी गरेको छ। भारतका विभिन्न राज्यमा रहेका पाकिस्तानी नागरिकहरू यस निर्णयपछि अन्योलमा परेका छन् भने सुरक्षा सतर्कता समेत बढाइएको छ।

सिन्धु जल सन्धि, जुन १९६० मा भारत र पाकिस्तानबीच भएको थियो, त्यसलाई एकतर्फीरूपमा स्थगित गर्ने निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्ने संकेत देखिएको छ। भारतले सन्धिअनुसार पाकिस्तानतर्फ बहने पानीको नियन्त्रण स्थगित गर्ने तयारी गरिरहेको छ।

सुरक्षा विश्लेषकहरूका अनुसार यो कदम दक्षिण एशियाको भू-राजनीतिमा ठूलो मोड सावित हुन सक्नेछ। भारतले यो निर्णयलाई आतंकवादविरुद्धको आफ्नो स्पष्ट नीति र अन्तर्राष्ट्रिय समुदायलाई दिने सन्देशको रूपमा समेत चित्रण गरेको छ।

सीसीएस बैठकपछि प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहबीच छुट्टै वार्ता भएको थियो। गृहमन्त्री शाह रातो फाइल लिएर प्रधानमन्त्री निवास प्रवेश गरेको दृश्य मिडियामा सार्वजनिक भएसँगै भारतको प्रतिकार रणनीतिमा गहिरो तयारी भइरहेको संकेत देखिएको छ।

यसबीच, केन्द्र सरकारले पहलगाम हमलाको विषयमा गम्भीर छलफल गर्न बिहीबार सर्वदलीय बैठक आह्वान गरेको छ। गृहमन्त्री शाह र रक्षामन्त्री सिंहले प्रमुख राजनीतिक दलका नेताहरूसँग व्यक्तिगत सम्पर्क गरिरहेको स्रोतले जनाएका छन्। सरकारको प्रयास सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याई राष्ट्रिय सुरक्षा सवालमा एकमत कायम गर्ने देखिन्छ।

अहिलेसम्म पाकिस्तान सरकारले भारतको निर्णयहरूमा आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रले भारतको कदमलाई गम्भीरतापूर्वक नियालिरहेको छ।

भारतको यो व्यापक निर्णयले आतङ्कविरुद्धको रणनीति मात्र नभइ दक्षिण एसियाली क्षेत्रको स्थायित्वमा समेत गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *