देश

भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर नेपाल आउँदै

Sharing is caring!

वैशाख ८, २०८२ । भारतीय विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि भोली मंगलबार नेपाल आउन लागेका हुन् । 

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर नेपाल आउन लागेको छ । 

आयोजनाको अवलोकन गरी भारतीय विद्युत मन्त्री खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।  

ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । मन्त्री खट्टरले ऊर्जामन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका रहेको छ । 

यस्तै, ऊर्जामन्त्री खड्कासँगै भारतीय विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सव-स्टेशन संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । उनले मंगलबार ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन् । 

सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । वैशाख १० गते भारतीय विद्युत मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपालका मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने छन् ।  

एसजेवीएनले संखुवासभामा ९ सय मेगावाट क्षमताको अरुण-३ को काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण -३ आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *