सांसद सिंहको आरोप: गभर्नर नियुक्ति नहुनेमा प्रधानमन्त्री र सभापति देउवा दोषी
वैशाख २६, २०८२ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नरको नियुक्ति हुन नसक्नुका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षका सभापति शेरबहादुर देउवा दोषी रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले सरकारको गभर्नर नियुक्ति प्रक्रिया रोकेको आरोप लगाए। उनले भने, “गभर्नरको नियुक्ति मन्त्रिपरिषद्को निर्णयबाट हुने हो, तर दुई दलको भागबण्डा र झगडाले यसलाई रोकिरहेको छ, जसले देशको आर्थिक क्षेत्रमा गम्भीर असर पुर्याउने छ।
सिंहले थपे, “दुई दलको राजनीतिक संघर्षले गभर्नरको नियुक्ति पूरा नगरी आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजिरहेको छ।” उनले प्रधानमन्त्री र शेरबहादुर देउवा दुवैलाई यस स्थितिको जिम्मेवार ठहर्याए।
यस्तै, उनले खेतिपाती सिजनमा मल र बिउको अभाव र तस्करीको समस्याबारे पनि ध्यानाकर्षण गराए। “किसानहरूले उचित मूल्य नपाइरहेको अवस्थामा सरकारको संयन्त्रको असफलता प्रकट भएको छ।” उनले सरकारलाई किसानको पक्षमा नउभिनु र केवल विचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन्।
सिंहको भनाइले सरकारको आलोचना गर्दै देशको आर्थिक क्षेत्र र कृषिका पक्षमा आवाज उठाएको छ।

