समाचार

नेपालमा धान–चामल आयातमा वृद्धि, सात महिनामा रु आठ अर्ब ६८ करोडको आयात

Sharing is caring!

फागुन १८, २०८१ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य बराबरको २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको सात महिनामा सोही नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य बराबरको १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार यस वर्ष धान र चामल दुवैको आयातमा वृद्धि देखिएको छ।

कृषिप्रधान मुलुक नेपालमा स्वदेशी उत्पादन पर्याप्त नहुँदा धान मात्र नभई चामल पनि ठूलो परिमाणमा आयात हुने गरेको छ। चालु आर्थिक वर्षको सात महिनामा मात्र वीरगञ्ज नाका हुँदै रु एक  अर्ब ३५ करोड मूल्य बराबरको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ।

गत वर्षको सोही अवधिमा रु एक अर्ब छ करोड मूल्य बराबरको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो।

यसैगरी, मकै आयातमा भने सामान्य गिरावट देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्य बराबरको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ। गत वर्षको सोही अवधिमा रु दुई अर्ब ९७ करोड मूल्य बराबरको छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *