Headlineसमाचार

मनसुनी प्रभाव : केही ठाउँमा भारी वर्षाको सम्भावना

Sharing is caring!

असार १६, २०८२ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ, पश्चिम नेपालको नजिक रहेकाले देशभर साधारणतया बदलीको अवस्था रहने बताइएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा तथा बाँकी अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने उल्लेख गरिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

आज रातिसमेत देशभर साधारणतया बदली रहने र कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ ।

रातिको अवस्थाबारे महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको पनि सम्भावना रहेको बताइएको छ ।

सावधानी अपनाउन आग्रह

विभागले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नदी तथा खोलानालाको आसपास, पहिरो जोखिम क्षेत्र र यात्रा गरिरहेकाहरूलाई विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *