देशभर मनसुनी प्रणालीको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
असार ७, २०८२ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको असरका कारण देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य स्थानका थोरै भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै, उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, ती प्रदेशहरूका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ।
मौसम महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार सम्भावित भारी वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

