स्कटल्यान्डबाट फर्कियो नेपाली क्रिकेट टोली
असार ८, २०८२ । स्कटल्यान्डमा सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को चौथो त्रिकोणात्मक एकदिवसीय तथा टी–२० शृंखलामा भाग लिएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली आज (आइतबार) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
टोलीको स्वागत नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंह र क्रिकेट म्यानेजर विनोद दासले गरेका थिए । भ्रमण सकिएसँगै कप्तान रोहितकुमार पौडेलले शृंखला सफल भएको प्रतिक्रिया दिए । उनले अब नोभेम्बरमा वेस्ट इन्डिजसँग हुने खेलका लागि तयारीमा जुट्ने बताएका छन् । स्कटल्यान्डमा प्राप्त नतिजाले टोलीको आत्मविश्वास बढेको पनि उनको भनाइ थियो ।
लिग–२ मा सन्तोषजनक प्रदर्शन
विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध चार खेल खेलेको थियो । नेपालले तीमध्ये तीन खेलमा विजयी हासिल गर्दै राम्रो प्रदर्शन गरेको हो । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेपछि दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हरायो । यद्यपि, स्कटल्यान्डसँग दोस्रो खेलमा नेपाल दुई रनले हारेको थियो । अन्तिम खेलमा भने नेपालले डच टोलीमाथि १६ रनको जीत दर्ज गर्यो ।
हालसम्म लिग–२ मा नेपालले १६ खेल खेल्दै १२ अंक जोडेको छ र सातौँ स्थानमा रहेको छ । नेदरल्यान्ड्सले २३ खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहँदा स्कटल्यान्डले १९ खेलबाट २४ अंकसहित तेस्रो स्थान कायम गरेको छ । प्रतियोगितामा सहभागी सबै टोलीले ९ शृंखलामा गरी ३६ खेल खेल्नेछ । लिग तालिकाको शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट चरणमा सिधा प्रवेश पाउनेछन्, भने अन्तिम चार टोलीलाई प्लेअफ खेल्नुपर्नेछ ।
टी–२० मा नेपाल उपविजेता
त्रिकोणात्मक टी–२० शृंखलामा पनि नेपालले सशक्त प्रदर्शन गर्दै चारमध्ये दुई खेलमा जीत हात पार्दै उपविजेता बन्न सफल भयो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गर्यो । तेस्रो खेलमा डच टोलीमाथि ६ विकेटको शानदार जीत निकालेको नेपाल अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग ३४ रनले पराजित भयो ।
स्कटल्यान्ड भ्रमणबाट फर्किएको नेपाली टोलीले अब केही विश्रामपछि आगामी अन्तर्राष्ट्रिय खेलहरूको तयारी आरम्भ गर्ने जनाएको छ ।

