Headlineदेश

भिजिट भिसा प्रकरणमा अनियमितता प्रमाणित भए राजनीति छाड्छु : गृहमन्त्री लेखक

Sharing is caring!

जेठ १०, २०८२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको दुरुपयोगमार्फत मानव तस्करी भइरहेको विषयमा उठेको विवादबीच गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आर्थिक अनियमितताको कुनै पनि आरोप प्रमाणित भए, पद मात्र होइन, राजनीति नै छाड्ने घोषणा गरेका छन्।

शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमार्फत भिजिट भिसाको नाममा भइरहेको भनिएको मानव तस्करी प्रकरणमा आफू वा आफ्नो सचिवालय संलग्न नरहेको दाबी गरे। उनले भने, “मेरो जीवनमा, राजनीतिक यात्रामा, यदि कसैले एउटा मात्र पनि आर्थिक अनियमितताको प्रमाण ल्याउन सके, म पद मात्र होइन, राजनीति नै त्याग्छु।”

उनले उक्त प्रकरणमा दोषी जो भए पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुने स्पष्ट पारे। “कानुनमाथि कोही पनि हुँदैन, यदि कोही संलग्न छन् भने जस्तोसुकै तहको व्यक्ति किन नहोस्, कारबाही हुन्छ,” गृहमन्त्रीको भनाइ थियो।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीमा गृहमन्त्री लेखक र उनको सचिवालयको संलग्नता रहेको आरोप लगाउँदै राजीनामा माग गरेको थियो। पार्टीले निष्पक्ष छानबिनका लागि मन्त्रीको पदबाट अविलम्ब राजीनामा दिनुपर्ने भनिएको थियो।

त्यसको जवाफस्वरूप गृह मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको नेतृत्वको कुनै संलग्नता नरहेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति मन्त्रालय गम्भीर छ। यस्ता आरोपहरू निराधार र तथ्यहीन छन्।”

भिजिट भिसाको नाममा भइरहेको भनिएको मानव तस्करी सम्बन्धी प्रकरणमा अध्यागमन विभागका केही कर्मचारीहरू अनुसन्धानको दायरामा परिसकेका छन्। सो प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायले गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *