समाचार

भिजिट भिसाको आडमा मानव तस्करी ! गृहमन्त्रीकै सचिवालय संलग्न भएको सांसद कार्कीको आरोप

Sharing is caring!

जेठ ९, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी अब केवल अध्यागमनको गडबडी नभई गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेट भएको गम्भीर आरोप लगाएकी छन्।

सांसद कार्कीले आज सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “म जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दैछु: भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन — यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेटको रूपमा प्रमाण र तथ्यहरू सञ्चारमाध्यममा छताछुल्ल हुँदैछन्।”

उनले तीनवटा मुख्य आरोप लगाएकी छिन् :

  • अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,
  • तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,
  • र त्यो पैसा सिधा गृहमन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।

सांसद कार्कीको गम्भीर प्रश्न छ, “जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने यो भन्दा ठूलो अपराधको अर्को नमुना कुन चाहिन्छ ?”

उनले आरोप लगाएकी छन् कि यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्‌बाटै यो अपराधलाई अनुमोदन गर्नु हो।

“अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखी गृहमन्त्रीलाई तुरुन्त बर्खास्त गरी सत्य, तथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारवाही अघि बढाउन माग गर्दछु,” कार्कीले लेखेकी छन्।

अन्त्यमा उनले प्रधानमन्त्री र सत्तारुढ दलहरूमाथि नै प्रश्न उठाउँदै भनेकी छन्, “यदि प्रधानमन्त्रीसहित सत्तारुढ दुई दल मौन रहन्छन् भने, यो स्वयम् सरकारको, संसदको, संविधानको र जनताको अपमान मात्र होइन, यो संगठित अपराध हो।”

यतिखेर भिजिट भिसाको आडमा विदेशी पठाउने प्रकरणमा अध्यागमन विभागका उच्च अधिकारीहरूसमेत पक्राउ परिसकेका छन् भने, कार्कीको अभिव्यक्तिले उक्त मुद्दालाई थप राजनीतिक र प्रशासनिक तहसम्म फैलाएको छ। तर हालसम्म सरकार वा गृहमन्त्रालयको तर्फबाट भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *