पत्रकारको सुरक्षा सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
वैशाख २०, २०८२ । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरूको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले विशेष संवेदनशीलता देखाउनुपर्ने आवश्यकतामा जोड दिएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा पत्रकारको जीवन र स्वतन्त्रतामाथि भइरहेका आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै संवैधानिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरिएको छ।
आयोगले पत्रकार सुरक्षाको अवस्थालाई गम्भीर रूपमा लिँदै, हालै घटित दुःखद घटनाहरू स्मरण गराएको छ। चैत १५ गते समाचार संकलनकै क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको र शिक्षक आन्दोलनको रिपोर्टिङ गर्दै गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख प्रकट गरेको छ।
आयोगले पत्रकारिता क्षेत्र लोकतन्त्रको आधारशिला भएकाले त्यसमा संलग्न व्यक्तिहरूको सुरक्षाको प्रत्याभूति गर्नु राज्यको उत्तरदायित्व भएको स्पष्ट पारेको छ। साथै, प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक सबै कानुनी तथा नीतिगत पहल गर्न पनि सुझाव दिएको छ।

