Headlineदेश

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

Sharing is caring!


असार १४, २०८२ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (शनिबार) बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित प्रमुख विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ सदनमा पेस गर्दै पारित गराउने तयारी गरिएको छ ।

त्यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ लाई पनि आजकै बैठकबाट पारित गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन मा सहभागी हुन आजै स्पेन प्रस्थान गर्न लागेका छन्। प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे आजको बैठकमा सदनलाई जानकारी गराउने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *