Headlineदेश

प्रतिनिधिसभाको बैठक आज १ बजे, बजेटमाथि छलफलको कार्यसूची

Sharing is caring!

जेठ २८, २०८२ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजेका लागि तय गरिएको छ । पछिल्ला केही सातादेखि विपक्षी दलहरूको अवरोधका कारण स्थगित हुँदै आएको बैठक आज (बिहिबार) पनि सुचारु हुनेमा अनिश्चितता कायमै छ ।

‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहितका दलहरुले यही जेठ १३ गतेदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । नियमित कार्यसूची अघि बढ्न नदिने रणनीति अनुरूप बैठक पटक–पटक स्थगित हुँदै आएको छ । अवरोध अन्त्य गर्न सत्तारूढ र विपक्षी दलहरूबीच पटकपटक छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ । बजेटमाथिको यो छलफल सरकारको आगामी आर्थिक नीतिहरूको खाका प्रस्तुत गर्ने अवसरका रूपमा लिइएको छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची समेत रहेको छ । तर, प्रतिपक्षी दलहरूको निरन्तर अवरोध कायमै रहेमा यी कार्यसूची कार्यान्वयनमा पनि प्रभाव पर्न सक्ने देखिन्छ

संसदको वातावरण अझै सहज नहुनु र मुलुकका महत्वपूर्ण नीतिगत विषयहरू निरन्तर रोकिएर बस्नु प्रति आमनागरिकस्तरमा पनि असन्तोष देखिन थालेको छ । संसद्को गतिरोध अन्त्यका लागि अझ प्रष्ट सहमति खोज्नु आजको मुख्य चुनौती बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *