Headlineदेश

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला

Sharing is caring!

जेठ १०, २०८२ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई अध्यागमन विभागमा उठेको भ्रष्टाचार प्रकरणका सन्दर्भमा नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले गृहमन्त्रीमाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि छानबिनलाई सहज बनाउन र आफ्नै नैतिक धरातल मजबुत बनाइ राख्न राजीनामा दिनु उचित हुने धारणा राखे। “नैतिकताको हिसाबले म क्लिन छु, मैले राजीनामा दिएँ, छानबिन समिति बनाउनुहोस् भने भइहाल्छ नि,” उनले भने, “त्यसले उहाँको नैतिक धरातल प्रष्ट देखिन्छ।”

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिन प्रक्रियामा सहयोग गरेको उदाहरण स्मरण गराउँदै लेखकमाथि उठेको विवादको यथोचित समाधानका लागि पनि राजीनामा नै उपयुक्त हुने बताए।

संविधानिक अंगहरूलाई ‘सचिवहरूको रिटायरमेण्ट क्लब’ को रूपमा विकास भइरहेको उल्लेख गर्दै कोइरालाले त्यस्तो प्रवृत्तिलाई रोक्न ‘कुलिङ पिरियड’ अनिवार्य हुनुपर्ने बताए। निजामती सेवामा निष्पक्षता र पारदर्शिता कायम राख्न सचिवस्तरका कर्मचारीका लागि अनिवार्य ब्रेक आवश्यक रहेको उनको भनाइ थियो।

डा. कोइरालाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको मुद्दामा तीन प्रमुख दल — कांग्रेस, एमाले र माओवादी — एकसाथ आउनुपर्ने र जनमत संग्रह गरिनुपर्ने सुझावसमेत दिए। “लोकतन्त्रलाई लक्ष्य बनाउने दलहरूले जनमत संग्रहबाट डराउन हुँदैन,” उनले प्रष्ट पारे।

नेता कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदो मंसिरमै सम्पन्न हुनुपर्नेमा अडान पुनः दोहोर्याए। उनले पार्टी कार्यकर्ताहरूलाई महाधिवेशन दबाबमूलक रूपमा गराउनुपर्ने आवश्यकताबारे जागरुक रहन अपिलसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *