उच्च रक्तचाप : लक्षण, कारण र जोगिने उपायहरू
जेठ ३, २०८२ । आज ‘विश्व उच्च रक्तचाप दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
सन् २००५ देखि मनाउन थालिएको यो दिवसको मुख्य उद्देश्य जीवनशैलीमा आएको परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभावबारे जनतालाई सचेत गराउनु हो। पछिल्ला केही वर्षयता बढ्दो प्रशोधित खानेकुरा, अत्यधिक नुन–चिनीको सेवन, व्यस्त जीवनशैली, तनाव, व्यायामको कमी र धूम्रपान–मद्यपानका कारण उच्च रक्तचाप एक आम समस्याको रूपमा देखा परेको छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, उच्च रक्तचाप प्रारम्भिक अवस्थामा खासै लक्षण देखिने रोग होइन, तर दीर्घकालमा यसको असर गम्भीर हुन्छ । त्यसैले यसलाई ‘साइलेंट किलर’ पनि भनिन्छ। समयमै जाँच र नियन्त्रण नगरे यो रोगले मुटु, मिर्गौला, मस्तिष्क, आँखा लगायत अंगहरूमा गम्भीर क्षति पुर्याउन सक्छ ।
रक्तचाप भन्नाले मुटुले रगत पम्प गर्दा रक्तनलीमा पर्ने दबावलाई जनाइन्छ । जब यो दबाव १२०/८० एमएमएचजी भन्दा माथि पुगेर लामो समयसम्म रहन्छ, त्यो अवस्था उच्च रक्तचाप मानिन्छ ।
लक्षण :
टाउको दुख्ने वा भारी लाग्ने
– चक्कर लाग्ने
– छातीमा चाप वा पीडा
– दृष्टि धमिलो हुने
– थकान वा कमजोरी महसुस हुने
– सास फेर्न गाह्रो हुने
– नाकबाट रगत बग्ने (कहिलेकाहीं)
धेरैजसो अवस्थामा यी लक्षणहरू देखिँदैनन्, त्यसैले नियमित रक्तचाप मापन गर्नु अत्यावश्यक हुन्छ ।
कारण :
अत्यधिक नुन, चिनी र बोसोयुक्त खानेकुरा
– प्याकेटबन्द र प्रशोधित खाना
– धूम्रपान र मद्यपान
– तनावपूर्ण जीवनशैली
– शारीरिक निष्क्रियता
– मोटोपन
– उमेर वृद्धिसँगै शरीरमा हुने परिवर्तन
– आनुवंशिक कारण
रोकथाम :
हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने
– ताजा फलफूल, सागसब्जी र फाइबरयुक्त खाना खाने
– प्रशोधित, चिल्लो तथा नुन–चिनी धेरै भएको खाना कम गर्ने
– धूम्रपान र मद्यपान परित्याग गर्ने
– तनाव व्यवस्थापनमा ध्यान दिने (योग, ध्यान, पर्याप्त निद्रा)
– नियमित रूपमा रक्तचाप मापन गर्ने
– चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने

