विदेश

केदारनाथमा हेलिकप्टर दुर्घटना : मेडिकल टोली सकुशल, उद्धार कार्य सम्पन्न

Sharing is caring!

जेठ ३, २०८२ । भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा बिरामीको उद्धारका लागि गएको हेलिकप्टर आपतकालीन अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टरमा सवार चिकित्सक टोली र पाइलट सबै सकुशल रहेका छन्।

शनिबार बिहान संजीवनी हेलिकप्टर एम्बुलेन्स केदारनाथको हेलिप्याडमा अवतरण गर्ने क्रममा त्यसको पछाडिको भाग भाँचिएको पुष्टि भएको छ। हेलिकप्टरमा एम्स ऋषिकेशबाट खटिएको एक डाक्टर र एक नर्सिङ कर्मचारी रहेका थिए।

स्थानीय प्रशासनका अनुसार केदारनाथ धाम दर्शनमा आएकी एक महिला तीव्र सास फेर्न गाह्रो भएपछि राज्य सरकारको संजीवनी हेली सेवा मार्फत चिकित्सक टोली पठाइएको थियो।

जिल्ला पर्यटन विकास अधिकारी तथा नोडल हेली सेवा अधिकारी राहुल चौबेले हेलिकप्टर अवतरणअघि प्राविधिक समस्या देखिएको जनाएका छन्। उनका अनुसार पाइलटले तत्काल परिस्थिति बुझी हेलिप्याडभन्दा केही परको समथर जमिनमा आपतकालीन अवतरण गरेका थिए। तर अवतरणका क्रममा हेलिकप्टरको पुच्छर भागको रोटर क्षतिग्रस्त भएको हो।

चौबेका अनुसार पाइलटको सूझबूझका कारण सम्भावित ठूलो दुर्घटना टर्‍न सफल भएको हो। हेलिकप्टरमा सवार सबै जना सुरक्षित रहेको पुष्टि गरिएको छ।

हेलिकप्टर दुर्घटनाको विस्तृत छानबिन भारतको नागरिक उड्डयन महानिर्देशनालय डीजीसीएले मार्फत हुने बताइएको छ। घटनाको कारण र भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक उपायबारे अध्ययन थालिएको अधिकारीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *